चोरिएका २७ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण



काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २७ वटा मोटसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

सादा पोशाकमा खटिने ट्राफिक प्रहरी टोलीले दुई हप्तामै खोजेका २७ वटा मोटरसाइकल बिहीबार सवारी धनीलाई हस्तान्तरण गरेको हो । मोटरसाइकल हस्तान्तरणपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले पछिल्लो केही हप्तामा हराउने सवारी भन्दा फेला पर्ने सवारीको संख्या बढेको दाबी गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षमा हराएका २७९ वटा मोटरसाइकल फेला पारेर सवारी धनीलाई बुझाइसकेको छ । चोरीमा संलग्न ४१ जनालाई कारबाही गरिसकेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।