

रुसमाथि अमेरिकी प्रतिबन्ध, कडा बन्दै बाइडेन प्रशासन

काठमाडौं – अमेरिकाले रुसका अधिकारी र व्यापारविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष खुवाएर मार्न खोजेको तथा जेलमा हालिएको विरोधमा अमेरिकाले रुसका अधिकारी र व्यापारविरुद्ध प्रतिबन्ध घोषणा गरेको हो ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनको प्रशासनका वरिष्ठ अधिकारीले प्रतिबन्ध लगाइएका रुसका अधिकारीको सूची भने सार्वजनिक गरिसकेका छैनन् । यस्तै बाइडेन प्रशासनले अमेरिकी रसायन एवं जैविक शस्त्र नियन्त्रण तथा युद्ध उन्मूलन अधिनियमबमोजिम रुसलाई १५ किसिमका व्यापार तथा उद्यममा पनि प्रतिबन्ध घोषणा गरेको छ ।
बाइडेन प्रशासनले विपक्षी नेताविरुद्ध आक्रमण तथा अमेरिकी एजेन्सी र कारोबारमा ह्याक गरिएको भन्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग संघर्ष गर्ने संकल्प लिएको छ । बाइडेन प्रशासनले रुसलाई प्रतिबन्ध लगाउन युरोपेली संघ (ईयू) सँग समन्वय गरेको छ ।
ईयूले नभाल्नी प्रकरणमा यसअघि नै रुसका केही अधिकारीलाई प्रतिबन्ध लगाइसकेको छ । मंगलबार मात्रै ईयूले नयाँ प्रतिबन्ध घोषणा गरेको छ, जसमा नभाल्नीलाई जेल हाल्ने रुसका शीर्ष अधिकारीलाई निशाना बनाइएको छ ।