नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिन्ह
आन्तरिक शुद्धिकरण र प्रहरी कर्मचारीहरुको वृत्ति विकास प्राथमिकतामा
काठमाडौं । नेपाल प्रहरीका ३३ औं प्रहरी महानिरिक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरिक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्ह ग्रहण गरिसकेपछि गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त आईजीपी कार्कीले आप्mनो कार्यकालमा नेपाली जनताले शान्ति सुरक्षाको प्रत्याभूति गर्ने र संगठनभित्रको आन्तरिक शुद्धिकरणका साथै प्रहरी कर्मचारीहरुको वृत्ति विकासका लागि अहोरात्र खटिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
त्यसका साथै आईजी कार्कीले अपराध र सुरक्षा चुनौतीहरु बढ्दै गएको महसुस गर्दै जनअपेक्षाअनुरुपको दक्ष जनशक्तिको निर्माण गर्नु सबैको साझा चुनौती भएको बताएका छन् ।
यस कार्यक्रमपछि आईजी कार्कीले प्रहरी प्रधान कार्यालय नक्लाल गई आजै पदभार गर्ने कार्यक्रम रहेको छ ।
