सुशीला सरकारमा थपिए २ नयाँ मन्त्री, यस्तो बन्यो १० सदस्यीय मन्त्रिपरिषद्
काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा दुई मन्त्री थपिएका छन् ।
आइतबार राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्ता र डा. सुधा शर्मा गौतमले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको रुपमा सपथ दिलाए । यससँगै मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले यसअघि भदौ ३० गते र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।
भदौ ३० गते रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई मन्त्री बनाएकी कार्कीले असोज ६ गते अनिल कुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्री बनाएकी थिइन् ।
कार्कीले पहिलो पटक मन्त्रिपरिषद् गठन गर्दा रामेश्वरप्रसाद खनाललाई अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा ओम प्रकाश अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाएकी थिइन् ।
दोस्रो पटक विस्तार गरेर मन्त्रिपरिषद् ८ सदस्यीय बनाउँदा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री, मदन परियारलाई कृषि तथा पशुपक्षी विकास, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि तथा महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिएकी थिइन् । त्यतिबेला अर्यालयको जिम्मेवारी गृहमा मात्रै सीमित गरिएको थियो ।
आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ समेत मन्त्री हुने भनिएपनि उनीहरुबारे विवाद बाहिरिएपनि शपथ रोकिएको थियो ।
