सेनाका क्याप्टेन थापा साढे ३ वर्षदेखि अस्पतालको शैय्यामा, ‘अझै पनि मलाई आश मरेको छैन’

काठमाडौं । नेपाली सेनाको क्याप्टेन पदमा कार्यरत ढालबहादुर थापा विगत लामोसमयदेखि बिरामी रहेका छन् ।

उनले उपचारका क्रममा भएको धनसम्पत्ति सकिएको सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।
उपचारका लागि विभिन्न सामाजिक सञ्जालहरुको प्रयोग गरिसकेका उनले पछिल्लोपटक सहयोगको अपेक्षाासहित आफ्ना मनमा लागेका कुराहरु सामाजिक सञ्जालमा विसाएका छन् ।

उनै ढालबहादुरको जिउने आशालाई केही हदसम्म भए पनि सहयोग पुगोस् भन्दै उनको सामाजिक सञ्जालको स्टाटस जस्ताको तस्तै प्रकाशित गरिएको छ ।

उनी लेख्छन्ः

अनुत्तरित प्रश्नहरू???

आजकाल मलाई एउटा प्रश्न सोधिन्छ। साँच्चै तपाईँ नेपाली सेनाको बालबाला अधिकृत अर्थात् क्याप्टेन हो? त्यसको जिउँदो प्रमाण म स्वयं नै हुँ। अनि म निर्धक्कसँग भन्छु हो। अब आउँछ प्रश्नको ओइरोहरू प्रमाणित नै गरेर देखाउनुपर्ने हुन्छ। किन ?कहाँ ?के? कसरी ?कसले ?कसलाई? म प्रश्नहरू को अन्धकारलाई चिर्ने प्रयास गर्दछु। म आफूलाई म नै भएको, सास फेरिरहेको अझै आश नमरेको प्रमाणित गर्ने प्रयास गर्दछु। अझै पनि विश्वास दिलाउन सक्दिन। यस्तो पनि हुन्छ र ?हैन होला ?तपाईंले मजाक गर्नुभएको होला?

म बिरामी भएको तीन वर्ष ६ महिना पूरा भएछ। मलाई लागेको रोग निकै जटिल, घातक अनि दीर्घ रोग पनि हो। सुरुमा मेरो स्पाइन(ढाड) मा मासु पलाएको हो। ढाडको सर्जरी पश्चात बिस्तारै कम्मरमुनिको प्यारालाइसिस, बायोप्सी जाँच गर्दा पहिला बोन टिभी र दोस्रो पटक जाँच गर्दा रगतको क्यान्सर हाइ ग्रेड नन हड्किन्स लिम्फोमा नेपालमा ६ वटा केमो भारतमा एकपटक बोनम्यारो प्रत्यारोपण र चीनमा दुईपटक कार्टिसेल अब पुनः भारत मा बोनम्यारो परत्यारोपणको लागि जाने तयारी। मेरो उपचारमा संलग्न डाक्टरहरूको भनाइ अनुसार म जुन अवस्थाबाट गुज्रिरहेको छु यो हजारौँमा एकजना लाई हुने कुरा हो।

मेरो आर्थिक अवस्थाले धानुञ्जेल मैले आफैले उपचारको लागि आर्थिक जोहो गरे। मैले सैनिक कल्याणकारीबाट पाउने सहुलियत पनि लिए यो कसैले दया धर्मले दिएको होइन। यो मैले पाउने अधिकार हो। मैले मेरो संस्थामा मानवताको हिसाबले सहयोग गरिदिनुस् भनेर बारम्बार प्रयास पनि गरे।

अहिले म यस्तो आर्थिक अवस्थामा छु समाउने हाँगो पनि छैन टेक्ने जमिन पनि छैन। यही संस्थामा २५ वर्ष सेवा गरेको मैले मानवताको नाताले केही सहयोग जुटाइदिनुस् भनेर प्रयास नगरेको होइन। संस्थाले यो कुरालाई आफ्नो दायित्व ठानेन र मैले जबरजस्ती गर्न पनि सकिन।

अहिले म चन्दा उठाएर चौथोपटक प्रत्यारोपणको तयारीमा छु। तर यो संस्थागत रूपमा भने होइन। इन्द्रेणी कार्यक्रमको फेसबुक पेज र युट्युब च्यानलमा मैले सम्पूर्ण देशविदेशमा रहनुहुने आमाबुवा दाजुभाईहरूसँग मेरो जीवन रक्षाको लागि मलाई आर्थिक सहयोग गरिदिनुस् भनेर आह्वान गरेको छु। मैले यो संस्थाबाट मौखिक स्वीकृति लिएर गरेको हाे।

हामीले यो भन्दा अगाडि पनि मेरो र मेरो श्रीमतीको सोसियल साइटबाट आफन्त इष्टमित्र चिनेजानेका साथीभाइहरु मार्फत केहि आर्थिक सहयोग संकलन पनि गर्‍यौँ। सम्पूर्ण सहयोगीहरूमा हार्दिक आभार व्यक्त गर्दछु।

संस्थागत हिसाबले गर्ने हो भने मेरो संस्थामा लगभग १ लाख कार्यरतै संख्या छ। प्रति व्यक्तिले रु १०० नै चन्दा दिएको भए पनि मेरो यो आर्थिक समस्या विषम परिस्थितिको सहजै समाधान हुने थियो। आखिर मैले जहाँ उठाए पनि चन्दा नै त उठाएर उपचार गरे र गर्ने तयारीमा छु। हुन त मेरो संस्थालाई यो कुराले खासै फरक नपार्ला तर मलाई बारम्बार सोधिने अनुत्तरित प्रश्नहरूले मलाई सताइरहन्छ। घच्घचाइरहन्छ। अझै पनि मलाई आश मरेको छैन मेरो आशामा तुसारापात हुँदैन भन्ने विश्वास छ।

के तपाईँ नेपाली सेनाको बहालबालै क्याप्टेन हो???

सम्पूर्ण सहयोगीहरुमा विशेष धन्यवाद।

क्याप्टेन ढाल बहादुर थापा एवं परिवार।

(देशका लागि खटिएको एउटा सिपाही अहिले बाँकी जीवनका जिउनका लागि सामाजिक सञ्जालमार्फत गरेको अपिल धेरै भन्दा धेरै सहृदयीहरूसँग पुर्याएर थोरै भए पनि योगदान दिन सकिन्छ कि भन्ने अभिप्रायः ले यो सामाग्री प्रकाशित गरिएको हो । सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *