सेनाले गर्यो ७ महिनामा ५६ बम डिस्पोज



काठमाडौं । नेपाली सेनाले गत सात महिनाको अवधिमा ५६ वटा आइईडी (बम) निष्क्रिय गरेको छ । आइतबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले यो जानकारी दिएको हो ।

त्यस्तै, सेनाले ६ वटा ‘होक्स’ (नक्कली बम) समेत निष्क्रिय गरेको छ । सेनाको बम डिस्पोजल टिमले विभिन्न स्थानमा सुरक्षा सावधानी अपनाउँदै बम डिस्पोज गर्दै आएको बताइएको छ ।

सडक निर्माणतर्फ, नेपाली सेनाले हालसम्म आफ्नो जिम्मेवारीमा परेका ३२ वटा सडक आयोजना सम्पन्न गरिसकेको जनाएको छ । सो क्रममा १,४०० किलोमिटरभन्दा बढी सडकको पाइलट ट्र्याक निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

हाल चारवटा प्रमुख सडक आयोजनाहरू – खाँदबारी–किमाथाङ्का सडक, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक, कर्णाली कोरिडोर सडक, र दार्चुला–टिंकर सडक अन्तर्गत २०० किलोमिटरभन्दा बढी सडक निर्माण कार्य जारी रहेको सेनाले जनाएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरूलाई तोकिएको समयमा सम्पन्न गर्ने प्राथमिकताका साथ नेपाली सेना अघि बढिरहेको छ । सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणलाई तीव्रता दिएको बताएको छ ।

२०७४ साल वैशाख २१ गते नेपाली सेनाले उक्त द्रुतमार्गको निर्माण तथा व्यवस्थापनको जिम्मेवारी लिएको थियो । ७०.९७७ किलोमिटर लम्बाइ रहेको उक्त सडकको हालसम्म भौतिक प्रगति ३८.२६ प्रतिशत र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेको सेनाले जानकारी दिएको छ ।

साथै, आयोजनाअन्तर्गत रहेका सातमध्ये दुईवटा सुरुङ मार्गको ‘ब्रेकथ्रु’ सम्पन्न भइसकेको छ भने दुईवटा सुरुङ निर्माणाधीन छन् । बाँकी तीन सुरुङहरूको डिजाइन तथा पूर्वतयारी कार्य भइरहेको सेनाले जनाएको छ ।

सेनाले विविध चुनौतीहरूका कारण सडक निर्माणको प्रगति अपेक्षाअनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ ।