

सशस्त्र इन्स्पेक्टर कुँवरविरूद्ध नक्कली सर्टिफिकेटबाट जागिर खाएको अभियोगमा मुद्दा
अनुसन्धान सुरू हुन लागेपछि राजीनामा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको २९ नम्बर गण हेडक्वाटर ज्वालामाई दाङमा कार्यरत तत्कालीन सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा इन्स्पेक्टर छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले २९ नम्बर गण दाङबाट केही समय अगाडि राजीनामा दिएका थिए । उनले अनुसन्धान सुरू हुने थाहा पाएपछि राजीनामा दिएको जनाइएको छ ।
अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाइस्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।
साथै उनले राष्ट्रसेवक पदमा प्रवेश गरी बढुवा भएको पाइएको आयोगको दाबी छ ।