जाजरकोटमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु, २ घाइते
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
गएराति करिब ११ बजेतिर ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए।
जीपमा चालकसहित सवार सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरी थप उपचारका लागि नगर अस्पताल दल्ली पुर्याए पनि सातमध्ये पाँच जनालाई डाक्टरले मृत घोषणा गरेका थिए।
मृत्यु हुनेमा नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय चालक इन्द्रजित थापा, सोही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको डीएसपी पाण्डेले बताए ।
घाइते दुईमध्ये २१ वर्षीय जीवन विकको अवस्था सामान्य रहेकोले सामान्य उपचार पश्चात उनलाइ डिस्चार्ज गरिएको र अर्का घाइते १९ वर्षीय जनक थापाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले बताएको छ।