

लहानका हजार बढी दलित परिवारलाई निःशुल्क खानेपानी धारा

काठमाडौं । लहान नगरपालिकामा खानेपानीको समस्यालाई समाधानका लागि काठमाडौंमा छलफल भइरहेको छ । नगरपालिकाका मेयर महेश चौधरीसहितको उपस्थितिमा राजधानीमा आयोजित एक विशेष कार्यक्रममा लहान नगरपालिकाका दलित परिवारलाई निःशुल्क खानेपानी धारा जडान गर्ने योजनासहित छलफल कार्यक्रम आयोजना गरिएको हो ।
लहान नगरपालिका, वाटर एड र दलित जनकल्याण युवा क्लबको संयुक्त सहयोगमा सञ्चालित विकन परियोजना मार्फत नगरपालिकाको तर्फबाट १००० विपन्न, दलित परिवारको घरमा निःशुल्क खानेपानी धारा जडान गरिने मेयर महेश चौधरीले जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको समेत सहभागिता रहेको उक्त कार्यक्रममा लहानका दलितहरुले भोग्नुपरेको समस्यालाई यथाशीघ्र समाधान गर्ने लक्ष्य राखिएको पनि जनाइएको छ ।
यस विकन परियोजनालाई खानेपानी मन्त्रालय र खानेपानी संस्थानले पनि सहयोग गरिरहेको छ । यस परियोजना मार्फत सन् २०३० सम्ममा लहानका सबै घरमा शुद्ध खानेपानी पु¥याउने कार्य भईरहेको छ ।