

एनपीएलः चितवनविरूद्ध जितको कामना गर्दै मैदानमा उत्रँदै लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध मैदान उत्रिँदा लुम्बिनी लायन्स पहिलो जितको खोजीमा हुनेछ ।
लुम्बिनी प्रतियोगितामा जितविहीन एकमात्र टोली हो । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो । प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किंग्सविरुद्ध दुई विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो हार बेहोरेको लुम्बिनीले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्सविरुद्ध एक रनको हार बेहोरेको थियो ।
यसैकारण प्रतियोगिताका प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राख्न आज लुम्बिनी जितको दबाबमा छ । आजको खेलमा पराजित भए लुम्बिनी आधिकारिक रूपमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।
यता, प्रतियोगिताका चारमध्ये तीन खेलमा जित निकालेको चितवन भने आज जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । बलियो सुदूरपश्चिमलाई हारको स्वाद चखाएको चितवन प्रतियोगिता अगाडि सबैभन्दा कमजोर टिमको रुपमा आंकलन गरिए पनि प्रतियोगिता सुरु हुनासाथ बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । त्यसैले कतिपय क्रिकेटप्रेमीहरु चितवनलाई ‘डार्क हर्स’को रुपमा पनि लिन थालेका छन् ।
चितवनले यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको चितवन तेस्रो खेलमा भने कर्णाली याक्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । यस्तै, चौथो खेलमा लुम्बिनीले प्रतियोगिताको उपाधि दाबेदारका रुपमा हेरिएको सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको थियो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।