सेनाका कर्णेल केसीले गुमाए उद्धार गर्दा-गर्दै ज्यान
काठमाडाैं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार कार्यमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल)काे मृत्यु भएकाे छ ।
शनिबार बिहान सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका मिलन केसीको मृत्यु भएको हो ।
केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए । रिसोर्टमा सुतिरहेको बेला शनिबार बिहान १० बजे रिसोर्ट माथिबाट पहिला सानो पहिरो झरेको थियो ।
कर्णेल केसीसहितको टोली सुरक्षित स्थानमा पुगेकाे थियाे । तर, कोरियन नागरिक नउठेपछि केसी उनीहरूलाई उद्धार गर्न गएका थिए । त्यसैबेला ठूलो पहिरो आएपछि केसी पुरिएकाे बताइएकाे छ ।
उनी केही समयअघि मात्रै कर्णेलमा बढुवा भएका थिए । तर, दर्ज्यानी चिन्ह भने लगाउन बाँकी थियो । उनी सिरियाको अनडफ मिसनमा जाने तयारीमा थिए ।
कर्णेल केसीसहित एक कोरियन नागरिकको शव प्रथामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी जानकारी दिए ।