आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन, ट्वीन टावर आक्रमणको २३ वर्ष पूरा



एजेन्सी- आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन । सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चारवटा आत्मघाती बम हमला गराएको २३ वर्ष पूरा भएको छ । सो हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो ।

अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी न्यूयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा बिस्फोट गराइएको थियो ।

स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा बिस्फोट गराइएको थियो । १६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो । बिस्फोटपछि टावरमा दुई घन्टासम्म आागो लागेको थियो । एक सय दश तले दुवै भवन ढलेर खरानी भएका थिए ।

नौ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा बिस्फोट भएको थियो । अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हुँदा विमान आकाशमै बिस्फोट भएको थियो ।

ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजार जनाको मृत्यु भएको थियो । आक्रमणमा अर्बौ डलर क्षति भएको थियो ।

ओसामा बिन लादेनको नेतृत्वको अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो । आक्रमणमा संलग्न अन्य १५ जना साउद अरबका थिए भने दुई जना यूएई, एक जना इजिप्सेली र अर्का लेबनानका थिए ।

हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो । बिन लादेनलाई पत्ता लगाउन र अल–कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुस प्रशासननले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो । आक्रमणकारीलाई अफगानिस्तानले संरक्षण गरेको अमेरिकी आरोप थियो । अमेरिकी आक्रमणपछि तालिवान सत्ताच्युत भएको थियो ।

अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो । सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाले लादेनलाई मारिदिएको थियो ।