७५ प्रतिशत कोरोना खोप १० देशको नियन्त्रणमा, ‘खोप वितरणमा असमानता भयो’ – गुटेरस

जेनेभा – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना खोपको वितरणमा भएको असमानतालाई कडा शब्दमा आलोचना गरेका छन्। उनले विश्वका धेरै मानिसहरूमाथि अन्याय भएकोसमेत जनाएका छन्।

महासचिव गुटेरसले विश्वमा रहेका कूल कोरोना खोपको ७५ प्रतिशत १० देशको नियन्त्रणमा रहेको बताए। हिजो संयु्क्त राष्ट्रसंघको सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरसले विश्वका एक सय ३० देशमा अझैसम्म कोरोना खोपको एक डोज पनि नपुगेको बताए।

यो अप्ठ्यारो स्थितिमा कोरोना खोपको समान वितरणलाई लिएर विश्व समुदायमा नैतिकताको परीक्षा भइरहेको उनले जनाए। उनले समान वितरणको सुनिश्चितता गर्दै तत्काल आपत्कालीन खोप योजना सबै मिलेर ल्याउनुपर्ने बताए।

जी-२० राष्ट्रहरूले आपत्कालीन कार्यदल गठन गरी कोरोना खोपलाई सबैको पहुँचमा पुर्‍याउनसमेत उनले आग्रह गरे। विश्वका प्रमुख सात औद्योगिक राष्ट्रले यसका लागि आवश्यक बजेट तय गर्नुपर्ने उनले सुझाए।

विश्वका विभिन्‍न स्थानमा चलिरहेको द्वन्द्वका कारण १६ करोडभन्दा बढी मानिस कोरोना खोपको पहुँचबाट बाहिर रहेको जनाइएको छ। यमन, सिरिया, दक्षिण सुडान, सोमालिया र इथोपियामा यस्तो संख्या बढी रहेको छ। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *