गृहले दियो सार्वजनिक सवारीमा जिपीएस र सिसिटिभी जडान गर्न व्यवसायीलाई निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई गाडीमा सीसीटीभी र जीपीएस जोड्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली जडान गर्न, सिसिटिभी जडान गर्न र अनलाइन टिकटको व्यवस्था मिलाउन यातायात व्यवसायीहरूलाई निर्देशन दिएको हो।

मन्त्रालयले यात्रुहरूलाई अनिवार्य टिकट काटेर यात्रा गराउन पनि निर्देशन दिएको छ।

सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशन दिँदै यी व्यवस्था कार्यान्वयन गर्न भनेको छ।

गृहको निर्देशनमा सार्वजनिक सवारी साधन चलाउने चालक र सहचालकलाई रोजगार सम्झौता अनिवार्य गर्नुका साथै न्यूनतम तलब, ज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्न पनि भनिएको छ।

साथै शिष्ट, सभ्य र यात्रुमैत्री व्यवहारका लागि यातायात मजदुरहरूलाई प्रशिक्षित गर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

चालकहरूलाई सुरक्षित ड्राइभिङसम्बन्धी नियमित रूपमा तालिम दिने, ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन कठोर निगरानी गर्ने, लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीले कम्तिमा दुई जना चालक राख्ने व्यवस्थाको अनिवार्य पालना गर्न पनि निर्देशन दिएको छ।

चालक र सहचालकको लागि पोशाक तथा परिचय पत्रको व्यवस्था गर्ने, टिकट काउन्टरमा बस्ने कर्मचारीहरूले अनिवार्य परिचय पत्र र तोकिएको पोशाक लगाउन, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने, सवारी साधनहरूको नियमित मर्मत सम्भार, जाँच गर्ने र पुराना र असुरक्षित सवारी साधनलाई प्रयोगबाट हटाउने निर्देशन पनि गृह मन्त्रालयको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *