

काेभिडकाे नक्कली खोप बिक्री गर्ने एक जना पक्राउ

बेइजिङ – चीनमा नक्कली खोप बिक्री गर्ने एक जना पक्राउ परेका छन् । पानी र सलाइनलाई कोरोना भाइरसको खोपका रूपमा प्रयोग गरेर लाखौं डलर कमाउने पक्राउ परेका हुन् । कङ नाम दिइएका ती व्यक्तिले वास्तविक खोपको अनुसन्धान गरेपछि ५८ हजार नक्कली खोप बनाएर बिक्री गरेका थिए ।
अधिकारीहरूले तीमध्ये केही मात्रा खोप चीनबाहिर पनि तस्करी गरिएको जनाएका छन् । तर ती नक्कली खोप कुन देशमा पुर्याइयो भन्नेबारे केही उल्लेख गरिएको छैन । हालसम्म नक्कली खोप बनाएको र बिक्री गरेको आरोपमा चीनमा कम्तीमा ७० जना पक्राउ परिसकेका छन् । उनीहरू विभिन्न २० वटा घटनासँग सम्बन्धित रहेका जनाइएको छ ।
नक्कली खोप निर्माण गर्ने र बिक्री गर्नेमाथि चीनले कडा कारबाही गर्ने जनाइरहेका बेला पछिल्लो समाचार सार्वजनिक भएको हो । चीनले कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु गरिसकेको छ । अधिकारीहरूले चिनियाँ नयाँ वर्षअघि नै १० करोड खोप लगाउने योजना सार्वजनिक गरेका थिए । तर हालसम्म ४ करोडलाई मात्र खोप दिइएको छ । एजेन्सी