

विश्वकप क्रिकेटः नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक, अझै टस भएन, पानी रोकियो

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आफ्नो दोस्रो खेलमा नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ ।
अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार अहिले बिहान ५ः१५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण ढिलाइ भएको छ । तर, अहिले भर्खरै पानी भने रोकिएको छ ।
वर्षाका कारण टससमेत हुन सकेको छैन । नेपाल र श्रीलंकाबिच खेल हुने दिन बुधबार फ्लोरिडामा पानी पर्ने देखिएको छ।
यो स्टेडियममा मंगलबार हुने भनिएको अभ्यास सत्र पनि वर्षाका कारण प्रभावित भएको थियो । बुधबार पनि मेघ गर्जनसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।
जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । जारी विश्वकपमा नेपाल र श्रीलंका समूह ‘डी’ मा रहेको छ ।
यस समूहमा टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेश पनि छन् ।