

प्रहरी सहायक हवल्दार श्रेष्ठले पनि गुमाए सिन्धुली मोटरसाइकल दुर्घटनामा ज्यान

तनहुँ। सिन्धुलीको फिक्कल गाउँपालिका—५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा जाँदा परेको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी सहायक हवल्दारको पनि मृत्यु भएको छ ।
आइतबार भएको दुर्घटनामा कमला नगरपालिका(९ घर भएका प्रहरी सहायक निरीक्षक (असई) रवीन्द्रकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो ।
सिन्धुलीको रत्नावती प्रहरी चौकीबाट प्रदेश ३—०२–००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक (असई) रवीन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गरेर पुनः प्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।
गम्भीर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।