

मध्यरातमा घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा परी गए राति दुई युवकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–४ स्थित वडा कार्यालयनजिक भित्री सडकखण्डमा ना२२प ३४४४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
राति करिब ११ः५५ बजे उक्त मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा रत्ननगर–३, बन्सीका १८ वर्षीय सुमित महतो र २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार, मोटरसाइकलमा सवार उनीहरू दुवैजनाले हेलमेट लगाएका थिएनन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका निम्ति भरतपुर अस्पतालमा पठाइएकोमा अस्पतालले राति १२ः५५ बजे दुवैजनाको मृत्यु घोषणा गरेकाे प्रहरीले जनाएको छ ।
दुर्घटनाका बेला मोटरसाइकल कसले चलाएका थिए भन्ने खुलेको छैन । उक्त घरको भित्तामा समेत क्षति भएको छ । मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको सो कार्यालयले जानकारी गराएको छ ।