रथी सिग्देलको जन्ममिति फेरि विवादमा, छानबिन गर्दै गृह र अख्तियार



काठमाडौं । नेपाली सेनाका रथी अशोकराज सिग्देलविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ ।

रथीमा बढुवा हुनुपूर्व पनि सिग्देलको नागरिकताको विषयमा गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अहिले पुनः गृहमन्त्रालयमा उजुरी परेपछि गृहले छानविन अघि बढाएको जनाइएको छ । उनले उमेर सच्याएर नागरिकताको प्रतिलिपि बनाएको प्रमाणसहित उजुरी परेपछि छानविन अघि बढेको हो ।

नेपाली सेनाका भावी प्रधानसेनापतिका रूपमा अघि बढाइएका सिग्देलविरुद्ध बढुवाकै बेला गत मंसिरमा पनि अख्तियारमा उजुरी परेको थियो । तर, त्यसबेला छानबिन रोकिएपछि उनको बढुवा भएको थियो । नागरिकता र राहदानीमा समेत कैफियत रहेको थप प्रमाणसहित गत महिना गृह मन्त्रालय र अख्तियारमा उजुरी परेपछि छानविनले गति लिएको हो ।

सिग्देलको वास्तविक जन्ममिति २०२१–१२– १९ भएकोमा पछि २०२३–१०–१९ बनाइएको प्रमाणसहित उजुरी परेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएको र मुलुकमा चरम हिंसात्मक द्वन्द्व चर्किएको बेला दुर्गम जाजरकोटबाट अर्को नागरिकता लिएको जनाइएको छ ।

जन्म मिति कीर्ते गर्नकै लागि उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएकाे बताइन्छ । द्वन्द्वका कारण सुरक्षाकर्मीको उपस्थिति नै कम हुने समयमा जाजरकोट जस्तो जिल्लाबाट रुपन्देहीका मान्छेले प्रतिलिपि बनाउनुमै गलत नियत देखिने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ ।

यस्तै काण्डमा यसअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि राजीनामा दिएका थिए ।

नेपाली सेनामा आगामी भदौमा नेतृत्व परिवर्तन हुँदैछ । जसमा सिग्देललाई प्रमुख दाबेदार मानिएको छ । तर, उनको नागरिकताको विषयमा विस्तृत छानविन भएमा उनी बर्खास्त हुने अवस्था छ ।