

इलाम- २ मा मतगणनाको तयारी, सर्वदलीय बैठक केहीबेरमा

इलाम । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस अघि निर्वाचन आयोगले राति ११ बजेसम्म मतपेटिका संकलन सकिने भनेपनि राति ढिलो गरि मतपेटिका मतगणनास्थल मा पुर्याइएको छ ।
इलाम- २ को मतगणना इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा गरिदै छ । मुख्य निर्वाचन कार्यालयका अनुसार सर्बदलीय बैठक बसेपछि मतगणना करिब ७ बजेदेखि शुरु हुने छ ।
त्यस्तै बझाङको उपनिर्वाचनका मतपेटिका भने बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।
शनिबार सम्पन्न मतदानमा इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको थियो ।
यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।
यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।