

कांग्रेसले टुंग्यायो उम्मेदवार, इलाम-२ मा खड्काले मारे बाजी

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम -२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो ।
आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ ।
यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ ।
यसअघि इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो ।
इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त थियो ।
सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए ।