

७७ वटै जिल्लामा गृहको २१ बुँदे निर्देशन – शान्तिसुरक्षा र सेवा प्रवाहमा सक्रिय भूमिका निर्वाह गर्नू

काठमाडाैं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई २१ बुँदे निर्देशन जारी गरेको छ।
चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ गृहले २१ बुँदे निर्देशन जारी गरेको हो ।
निर्देशनमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, गुनासो व्यवस्थापन, कर्मचारी आचरण र अनुशासन, सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण, विकास निर्माणका काममा समन्वय र सहजीकरणलगायत समेटिएको छ ।