

रोल्पाका घनसिंहले गुमाए रुसी सेनामा रहँदा ज्यान

काठमाडाैं । रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु भएको छ । रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ ।
मंसिरमा भारत हुँदै रुसी सेनामा भर्ना भएका उनको मृत्यु भएको उनीसँगै रहेका साथीले घरसम्म खबर पुर्याएपछि घनसिंहको मृत्यु भएको पुष्टि भएको हो ।
मृत्यु हुनुअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए । घनसिंहले रुस जानकै लागि ११ लाख रुपैयाँ ऋणसमेत लिएका थिए । परिवारले मृतक पुनको शव नेपाल ल्याउन र क्षतिपूर्तिको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ ।
योसँगै रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या १४ पुगेको छ ।