

दैलेखका दिदीबहिनीः थापाथलीबाट बच्चा चोरेर काँडाघारी पुगेपछि…

काठमाडौं । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पताल परिसरबाट चोरिएकी बालिका फेला परेकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट शुक्रबार राति ११ः४५ मा उद्धार गरेको हो ।
बच्चा चोरीमा संलग्न आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । बच्चा चोर्ने महिला दैलेखकी मनिषा सिंह रहेको खुलेको छ । उनीसँगै उनकी दिदीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । काँडाघारीस्थित डेराबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ । बालिकालाई उद्धार गरेर उपचारको लागि अस्पतालमा राखिएको छ ।
बच्चा नभएकाले चोरी गरेको ती महिलाले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । प्रहरी स्रोत भन्छ, ‘ती महिलाले आफू सुत्केरी भएको भनेर घर परिवारलाई भनेकी रहेछिन् ।’ आरोपीहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।
बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो । सिसिटिभीको सहयताबाट उनको पहिचान गरी प्रहरीले खोजी गरी पत्ता लगाएको थियो ।