प्रहरीको समायोजन विधेयक संशाेधन गरेर छिटै समायोजन गरिन्छः गृहमन्त्री



नेपालगन्ज । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनसम्बन्धी विधेयक छिट्टै संशोधन गरेर पास गर्ने बताएका छन् ।

शुक्रबार नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले प्रदेशमा प्रहरी समायोजनका लागि समिति बनाइसकिएको र अझैपनि केही कानुनी जटिलता रहेको भन्दै संशोधन पास गर्ने तयारी भइरहेको बताए ।

उनले त्यसकालागि केही दिनमै संशोधन प्रस्ताव विधेयक सदनमा पेश गरिने बताए । प्रहरी संगठनका हरेक योग्य कर्मचारी त्यसको उच्च नेतृत्वमा पुग्ने गरी समायोजन प्रक्रिया अगाडि बढाइएको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

उनले प्रदेशलाई अधिकारसम्पन्न बनाउन अब क्रमशस् निजामती ऐन, शिक्षा ऐन र स्थानीय प्रशासन ऐन समेत संसद्मा अघि बढाउने तयारी भइरहेको बताए ।

लुम्बिनीका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको मुल ध्येयमा लाग्न निर्देशन दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेय, प्रदेश प्रमुख सचिव राधिका अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अतिरिक्त मुख्य अनुसन्धान अधिकृत टेकेन्द्र कार्की र नेपाली सेना युद्धकार्य विभागका उपरथि प्रेमध्वज अधिकारी लगायत सहभागी थिए ।