

सशस्त्र अस्पताल बलम्बुमा अबदेखि अन्कोलोजी सेवा

काठमाडौं । नेपाल एपीएफ अस्पताल बलम्बुमा अन्कोलोजी युनिट स्थापना भएको छ ।
अस्पतालको २२औं वार्षिकोत्सवको अवसर पारेर बुधबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्वकेन्द्रीय अध्यक्ष श्रीमती कल्पना थापाले ‘सहवीर थापा अन्कोलोजी युनिट’को संयुक्त रुपमा उद्घाटन गरेका छन् । पूर्वसशस्त्र प्रहरी महानिरीक्षक स्व. सहवीर थापाको स्मृतिमा उक्त युनिट स्थापना गरिएको हो ।
अन्कोलोजी युनिट सञ्चालन गर्न स्थापना गरिएको अक्षयकोषमा महानिरीक्षक अर्याल तथा उनको परिवारको तर्फबाट ५ लाख रुपैयाँ प्रदान गरिएको छ । साथै वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले समेत सहयोग रकम प्रदान गरेका छन् ।
महानिरीक्षक अर्यालले अस्पतालमा निर्माण भएको नयाँ इमरजेन्सी भवनको समेत उद्घाटन गरेका छन् । उनले अस्पतालमा कार्यरत रही वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत कदरपत्र प्रदान गरेका छन् ।