एआईजी थापाले दिए विमानस्थलमा त्रुटिरहित विशेष सुरक्षा व्यवस्था गर्न निर्देशन



काठमाडाैं । काठमाडाैं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)  दिपक थापाबाट बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाण्डौको निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अति संवेदनशील विषय भएकोले सोही बमोजिम विशेष ख्याल गरी सुक्ष्मरुपमा त्रुटीरहित तवरले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।

विमानस्थलको सुरक्षा व्यवस्थाले अन्तर्राष्ट्रियस्तरमा राष्‍ट्रको सुरक्षाको स्तर झल्काउने र नेपाल प्रहरीको गरिमा समेत अभिबृद्दि गर्ने हुँदा मानव अधिकारको संरक्षणका साथै नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

एआईजी थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य नागरिकदेखि अति विशिष्ठ व्यक्तिसम्म साथै आपराधिक मनसाय भएका स्वदेशी/विदेशी नागरिकको आवागमन हुने प्रमुख स्थान समेत भएकोले संभावित खतराको मूल्याङ्कन (Threat Assessment) गरी सोही बमोजिम सुरक्षा योजना (Operational Plan) बनाई विभिन्न निकायसँग समन्वय गरी उच्च मनोवलका साथ प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी, प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।