

असई भण्डारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युरिया मल र मोटरसाइकल छुटाइदिन्छु भनेर ८ हजार घुस लिने प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बाँकेस्थित प्रहरी चौकी खडैचामा कार्यरत असई भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनेर घुस लिएको अभियोग छ ।
आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले असई भण्डारीलाई सेवाग्राहीबाट ८ हजार लिएको अवस्थामा गत पुस २५ गते रंगेहात पक्राउ गरेको थियो ।
भण्डारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो जरिवाना र कैद सजायको मागदावी गरेको आयोगका प्रवक्ता नरहरि आचार्यले जनाएका छन् ।