सुमितसहित उनका साथी सञ्चितले पनि यही मोटरसाइकलबाट गुमाए ज्यान



वीरगन्ज । वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादव रहेका छन् ।

प्रहरीका अनुसार मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।

मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ ।

मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । बिहान स्थानीयले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।