

यी ५ प्रहरी जो बसेनन् ६ महिनासम्म बिदा, अनि परे स्पष्टीकरणमा (पत्रसहित)

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत पाँच जना कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।
प्रहरी नियमावली २०७१ अनुसार पाउने विदाको सुविधा नलिएकाले जवानहरुलाई प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको हो ।
प्रहरी सहायक हवल्दार सविन थक्लुङ लिम्बु, प्रहरी जवान सागर राई, द्वारिका राई, रुपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको हो ।
ती कर्मचारीहरु ६ महिनासम्म पनि बिदा नबसेको देखिएकाले स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।
कारबाही गर्नका लागि नभएर बिदा बस्नलाई प्रोत्साहित गर्न स्पष्टीकरण सोधिएको उनले बताए ।
ती जवानहरुले स्पष्टीकरणको जवाफ पनि दिइसकेको बुझिएको छ । प्रहरी अधिकृतहरुले वर्षमा ३० दिन घर विदा र १२ दिन भैपरि आउने बिदा पाउँछन् ।