

नमोबुद्धका एक वृद्धको निस्सासिएर मृत्यु, श्रीमतीको उपचार हुँदै

काभ्रे । काभ्रेको नमोबु्द्ध नगरपालिका एक वृद्धको निस्सासिएर मृत्यु भएको छ।
कोठामा हिटर र फलामको कराइमा आगो बालेर झ्याल-ढोका बन्द गरी सुतेको कारणले निस्सासिएर नमोबुद्ध नगरपालिका -१ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए।
सोमबार बेलुकी खाना खाएपछि कर्मा र उनकी ८१ वर्षीया श्रीमती असनी लामाले कोठा न्यानो पार्न हिटर र आगो बालेका थिए।
उनीहरू मंगलबार बिहान ८ बजेसम्म पनि नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुबै जना बेहोस अवस्थामा फेला परेका थिए।
दुबै जनालाई बिहान धुलिखेल अस्पताल लगिएको थियो।
कर्माको सवा ९ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। असनीको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।