‘बालकृष्णहरू’ जेलमै, टेकनाथ रिजालसँग १५ लाख धराैटी माग
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामा नै रहने भएका छन् ।
उच्च अदालत, पाटनलले आज फैसला सुनाउँदै रायमाझी र खाँणलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
यस्तै उक्त प्रकरणमा सन्देश शर्मालाई १० लाख धरौटीमा छोड्ने आदेश दिएको छ ।
हरिभक्त महर्जनसँग पनि १५ लाख धरौट माग गरेको छ भने लक्ष्मी महर्जनको हकमा साधरण तारेखमा राख्न आदेश दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाणको विषयलाई लिएर न्यायाधीशबीच राय बाझिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा उक्त राय बाझिएको हो ।
न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी रु ३० लाख धरौटीमा छाड्ने राय दिनुभएको छ भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिएका छन् ।
आदेशमा भनिएको छ , “प्रतिवादी बालकृष्ण खाणको हकमा आदेश, राय मतैक्यता हुन नसकेकाले प्रस्तुत फरक राय सहितको निवेदन बालकृष्ण खाण विपक्षी नेपाल सरकार भएको प्रतिवेदन उच्च अदालत नियमावली, २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीश समक्ष पेस गर्नु ।” खाणको विवाद अब तेस्रो न्यायाधीशबाट सुनुवाइ हुनेछ ।
त्यस्तै, प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित नौ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो ।
अदालतले पूर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई रु १५ लाख धरौटी थुनामुक्त गर्न आदेश दिएको हो । भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको उल्लेख गर्दै रिजाललाई थुनामा राख्न नपर्ने आदेश गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई रु ३० लाख, हरिभक्त मर्हजन र शरण केशीलाई रु १५/१५ लाख, नरेश केसी र शमशेर मियाँलाई रु १०/१० लाख, आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
अदालतले साधारण तारिखमा टङ्ककुमार गुरुङ, केशव तुलाधार, लक्ष्मी महर्जनलाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतले गत असार १ गते उक्त विवादका १६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले आज उक्त फैसला सुनाएको हो ।