

उपरथी सिलवाललाई दर्ज्यानी चिह्न, बढुवा भएका तीन महासेनानीले पनि लगाए फूली

काठमाडौं – नेपाली सेनाका सहायक रथी नारायण सिलवालले उपरथी दर्जाको दर्ज्यानी चिह्न लगाएका छन् ।
सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले उनलाई बढुवाको फुली लगाइदिएका हुन् ।
प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
महासेनानीमा बढुवा हुनेहरुमा सुरेन्द्र सापकोटा, दिग्विजय शाह र निरज पाण्डे रहेका छन् । यी तीनैजना सैनिक अधिकारीहरु एकवर्ष अघि बढुवा भएपनि विदेशमा रहेकाले हाल दर्ज्यानी चिन्ह लगाएका हुन् । तीनैजना शान्ति मिशनमा कार्यरत रहेका थिए ।
कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्कालगायत अधिकृतहरूको पनि उपस्थिति थियो।