उपरथी पाण्डेको राजीनामा मन्त्रीपरिषदद्वारा स्वीकृत, अब के होला सेनामा ?



काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।

उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

रथीका लागि सिफारिस भइसकेपछि जन्ममितिसम्बन्धी कैफियत देखिएपछि राजीनामा दिएका पाण्डेको राजीनामा स्वीकृति भएपछि रथीका लागि क्रमशः बरियतामा अशोककुमार सिग्देल, निर्मल कुमार थापा र सन्तोषकुमार ढकाल रहेका छन् ।

ती मध्ये पनि सिग्देलको पनि जन्ममितिमा कैफियत देखिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

नेपाली सेनाले यसअघिको सिफारिसमा विवाद देखिएपछि अब गर्ने अन्य सिफारिसहरुमा विवाद नहोस् भन्नका लागि उच्च अधिकारीहरुको जन्ममिति र शैक्षिक योग्यतासम्बन्धी कागजातहरु आन्तरिकरुपमा छानबिन गरिहेको छ ।

सेनामा अब बढुवा हुने रथीले नेपाली सेनाको आगामी नेतृत्व सम्हाल्ने भएका हुनाले यसपटक बढी महत्वका साथ हेरिएको छ ।