

नेपाली सेनाको ४५औं प्रधानसेनापति सिग्देल !

काठमाडौं । नेपाली सेनाको ४५ औं प्रधानसेनापति बन्ने रोलक्रमसँगै बढुवाका लागि सिफारिस भइसकेका उपरथी ताराध्वज पाण्डेले एक्कासी राजीनामा दिएपछि भावी नेतृत्वका बारेमा चर्चा सुरु हुन थालेको छ ।
उपरथी पाण्डेलाई प्रधानसेनापतिको रोलक्रममा हुने गरी बढुवा गर्ने बढुवा बोर्डले निर्णय गरे पनि जन्ममिति सम्बन्धी प्रश्न उठेपछि उनले राजीनामा दिएको जनाइएको छ । उपरथी पाण्डेले राजीनामापछिको पेन्सनका लागि पनि शुक्रबार प्रक्रिया अगाडि बढाइसकेको पनि जनाइएको छ ।
भावी प्रधानसेनापतिका क्रममा रहेका उपरथीले राजीनामा दिएपछि अब सेनाभित्र र बाहिर आगामी नेतृत्वका लागि चर्चा सुरु भएको छ । त्यसका लागि रोलक्रममा भने २०७६ साल असोज १७ गते उपरथीमा बढुवा भएका अशोकराज सिग्देलको नाम पहिलो नम्बरमा रहेको छ ।
अब नेपाली सेनाको बढुवा बोर्डले सिग्देलको नाम सिफारिस गर्ने र उनी नै भावी प्रधानसेनापति हुने रोलक्रम देखिएको छ । तर, नेपालका सुरक्षा निकायको उच्च तहमा पुगेका व्यक्तिहरुको विभिन्न कागजातहरु विवादित रहने देखिएकोले उनका कागजातहरुमा कुनै विवाद नदेखिएमा उनी नै भावी प्रधानसेनापति हुने गरी बढुवा हुने निश्चितप्रायः देखिएको छ ।
वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले २०८१ भदाै २४ गते अवकाश पाउने हुँदा त्यसलगत्तै नेपाली सेनाको ४५ औं प्रधानसेनापति सिग्देल बन्ने प्रबल सम्भावना रहेको छ ।