

एमालेको चियापान तथा शुभकामना कार्यक्रम आज

काठमाडौं । नेकपा एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे २ बजेदेखि चियापान कार्यक्रम सुरू हुने एमालेले जनाएको छ ।
यसअघि हिजोका लागि तय भएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि आजका लागि सारिएको थियो ।
चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका शीर्ष नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरूलगायतलाई निमन्त्रणा गरिएको जनाइएको छ ।
पर्वहरूको अवसरमा राजनीतिक दलहरूले बर्सेनि चियापान आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । सत्तारूढ दल नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान गरेको थियो।