

एशियाली खेलकुदः नेपालद्वारा मंगोलिया २७३ रनअन्तरले पराजित

काठमाडौं । नेपालले मंगोलियाविरुद्ध शानदार जित हात पारेको छ ।
१९ औं एसियन खेलकुद प्रतियोगितामा नेपाली क्रिकेट टिमले मंगोलियाविरुद्ध २७३ रनको विशाल जित हात पारेको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै कीर्तिमानी ३१४ रन बनाएको थियो ।
त्यसपछि ३१५ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा समेटिएपछि नेपालले विशाल जित हात पारेको हो ।
नेपालका लागि करण केसी, अविनास बोहोरा र सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए भने सोमपाल कामी, दिपेन्द्र सिं ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिएका थिए ।
मंगोलियाका जमायानसुरेनले १० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । नेपालले मंगोलियालाई २३ अतिरिक्त रन दिएको थियो । मंगोलियाका ५ खेलाडी शुन्य रनमा आउट भएका थिए ।
त्यसअघि कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी ब्याटिङका साथ नेपालले २० ओभरमा ३१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मल्लले नेपालका लागि ४९ बलमा १३८ रनको पारी खेलेका थिए भने ऐरीले १० बलमा ५२ रन बनाए ।
मल्ल टी–२०इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ३४ बलमा शतक पूरा गरे भने ऐरीले भने ९ बलमै अर्धशतक प्रहार गर्ने कीर्तिमा राखेका छन् । उनले भारतका युवराज सिंहको १२ बलमा अर्धशतक बनाउने कीर्तिमानलाई तोडेका छन् ।