

घाँस काट्न चढेका तामाङको रुखमै मृत्यु !

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा घाँस काट्न रुखमाथि चढेका एकजना ज्येष्ठ नागरिक रुखको कापमै अड्किएको अवस्थामा मृत फेला परेका छन् ।
शिवसताक्षी ८ का ७५ वर्षीय सन्तबहादुर तामाङको रुखमाथि नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आइतबार बिहान बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका उनी घाँस काट्दै गर्दा रुखमै बेहोश हुँदा हाँगामा अड्किन पुगेका थिए ।
करिब ४० फिट अग्लो खरीको रुखको हाँगामा बेहोश भएर अड्किएका उनलाई तत्काल परिवारले देखेर इलाका प्रहरी कार्यालय झिलभिलेमा खबर गरेका थिए । रुखमुनि बसेर श्रीमती फुलमाया तामाङ र छोरा कुमार दोर्जे तामाङ घाँस बटुल्दै थिए ।
तामाङ उच्च रक्तचापको बिरामी भएको बुझिएको छ । झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालका अनुसार तामाङलाई प्रहरीले उद्दार गरी रूखबाट तल निकालेको थियो ।
तर, तामाङको रुखमै मृत्यु भइसकेको थियो ।