

१० वर्षअघि बुवा खसेकै छतबाट खसेर ज्यान गुमाए भूपू सैनिक कविरमानले…

बिर्तामोड । बिर्तामोडमा एक घरको छतबाट खसेर भूपू सैनिकको मृत्यु भएको छ । केही महिनाअघि भारतीय सैनिकबाट सेवानिवृत्त भएर घर फर्केका बिर्तामोड ५ सुब्बाचोक बस्ने ४८वर्षीय कबिरमान थिङ तामाङको आफ्नै तीनतले घरको छतबाट खसेर मृत्यु भएको हो ।
बिहान ५ बजेको समयमा छतबाट खसेर घाइते भएका तामाङलाई उनका श्रीमती र छोराले उपचारका लागि बीएण्डसी अस्पताल पुर्याएकोमा उपचारका क्रममा बिहान ५ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरिएपछि मृतकका छोरा विवेक तामाङले बुझिलगेको डीएसपी रिजालले जानकारी दिए ।
मृतकका पिता भीमबहादुर थिङ तामाङको पनि सोही घरको छतबाट झरेर मृत्यु भएको थियो । करिव १० वर्षअघि सो घर एकतले हुँदा तामाङका पिता भीमबहादुरको पनि घरको छतबाट झरेर मृत्यु भएको नेपाल तामाङ घेदुङ बिर्तामोडका अध्यक्ष विजय तामाङले बताए ।
अध्यक्ष तामाङका अनुसार कविरमान पश्चिमपट्टि झरेका थिए भने उनका पिता पूर्वपट्टि झरेका थिए ।