मेजर पण्डितको शव दुनै ल्याइँदै, पोष्टमार्टमपछि मात्रै अन्तिम संस्कारको टुंगो लाग्ने



डोल्पा । डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव जिल्ला सदरमुकाम दुनै ल्याइँदैछ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता तथा इन्सपेक्टर कमल क्षेत्रीले शव ब्यारेक ल्याइँदै गरेको जनाए । सदरमुकाम ल्याइसकेर ब्यारेकमा ल्याएपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिने जनाइएको छ ।

भदौ १० गतेदेखि सम्पर्कबिहीन भएका मेजर पण्डित सदरमुकामदेखि ३० किलोमिटर खाँडाचक्र स्थित भेरीको किनारका २ ढुंगाको कापमा अड्किएको अवस्थामा भेटिएको थियो ।

बिहान त्रिपुरासुन्दरी–५ का शिवकमल सार्कीले चिन्डेबगरस्थित भेरी किनारमा माछा मार्न जाँदा देखेपछि खदाङस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।

प्रहरीले खबर पाएपछि सेनासहितको टोली उक्त स्थानमा गएर हेर्दा मृतकको हातमा भएको घडी र औंठीबाट शव पहिचान भएको थियो । उक्त शवकाे शरीरमा भने कुनै लुगा नरहेको पनि जनाइएको छ ।

काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए।

बेपत्ता भएपछि काठमाडौंबाट मेजर पण्डितका बुवासहितका आफन्त डोल्पा पुगेका थिए । आफन्तहरु खोजीमा सहभागी भए पनि विमललाई जिउँदो भने भेटाउन पाएनन् ।

उनको जिल्ला अस्पतालमा पोष्टमार्टम गरेपछि मात्र मृतकका बुवासँगको सल्लाहपछि थप निर्णय लिइने जनाइएको छ ।