

चाैकीभित्रै प्रहरी जवानलाई हात पछाडी बाँधेर यातना

सिराहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवानलाई पछाडि हात बाँधेर चाैकीभित्रै यातना दिएको भिडियो बाहिर आएको छ । जवान अनु रायलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमन्त राईले यातना दिएको आरोप छ ।
प्रहरी जवान रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भन्दै भिडियो बाहिरिएको हो । २ मिनेट १८ सेकेन्डको भिडियोमा जवान रायले रूँदै ‘यसरी यातना नदिनुस्, बरु मार्दिनुस्’ भनेर याचना गरेको दृश्य समेत भिडियोमा छ । उनले ‘म अपराधी होइन सर, बुटैबुटले किन हान्नुहुन्छ?’ भनेर समेत सोधेका छन् ।
मादक पदार्थ कहाँ सेवन गरिस् ? भनेर सोधखोज भएको र उनले मादक पदार्थ सेवन गरेको छैन भनेको पनि भिडियोमा देख्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्रराज पाण्डेले प्रहरी सेन्ट्रीलाई अवरोध गरेको तथा मार्छु र आफू पनि मर्छु भन्ने खालका अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिएको दाबी गरे ।
घटनाको वास्तविकताबारे प्रहरीले थप अनुसन्धान सुरू गरिसकेको पनि जनाइएको छ ।