सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं  । काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

उप–प्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला संघको सेवामुखी क्रियाकलापको साथै समाज सेवाको पवित्र कार्यमा आफ्नो जीवन समर्पण गर्नुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई कदरपत्र प्रदान गरेकी थिइन् ।

उनले संघले बालक, बृद्धबृद्धा तथा नारी सशक्तिकरणको क्षेत्रमा मात्र नभई समग्र राज्यको शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखी सेवा मुलक कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त गर्दै सुरक्षा निकाय जस्तो पवित्र संगठनले नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धारको साथसाथै समाज सेवामा पनि समर्पित रहँदै आईरहेको बताइन् ।

राज्यको सीमामा दरिलो खम्बा बनेर विपद्, प्रकोपमा परेकाहरुको आशा र भरोसाका रुपमा रहेका राष्ट्रसेवक सुरक्षाकर्मीहरुका जीवन संगिनीहरुको त्याग र समपर्ण भावको मुक्त कण्ठले प्रशंसा गर्दै उप–प्रमुख डंगोलले भनिन्–‘नारीहरु संगठित भई कार्य गरे शब्दकोषमा समेत असंभव भन्ने शब्दको स्थान नै रहँदैन ।’

उनले महिलामा हुने सबै प्रकारका हिंसा र विभेदहरुको विरुद्ध आवाज उठाउँदै सहभागिता, समानता र समतायुक्त समाजको परिकल्पना साथ अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै पुरानो सत्तात्मक समाजमा अधिकार खोज्नुमात्र समस्याको समाधान नभई भएका अधिकारहरुलाई समेत उपभोग गरी समतामुलक समाजको निर्माण गर्नु आजको आवश्यकता रहेको बताइन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम महिला हाफ म्याराथन दौड विजयी खेलाडी लगायत महिला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे । सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले विभिन्न निजी तथा सामुदयिक विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै संघको विभिन्न सेवामुलक कार्यहरुमा सहयोग गर्ने सरकारी तथा गैरसकारी संघसंस्था एवं महानुभावहरुको अनुकरणीय योगदानप्रति हार्दिक आभार प्रकट गरिन् । उनले कुनैपनि सेवामुलक कार्य एक व्यक्तिको प्रयासले मात्र सहज नहुने बताउँदै नारी शसक्तिकरण तथा बालबालिका, बृद्धबृद्धा, शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा अगाडी बढ्न सशस्त्र प्रहरी बल नेपाललाई काठमाडौं महानगरपालिका तथा नगरपालिकाको सहयोग र सद्भाव निरन्तर मिल्ने अपेक्षा राखिन् ।

कार्यक्रममा संघकी सदस्य सचिव श्रीमती तुलमाया ठाडामगरले सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक गतिविधि र भावी योजना प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा उपत्यका स्थित महानगर तथा उपमहानगरपालिकाका उप–मेयरहरु, निजामती कर्मचारी, सैनिक तथा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, संघका पदाधिकारीहरु लगायत अन्य संघसंस्थाका पदाधिकारीहरु र सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनहरुको समेत उपस्थिती रहेको थियो ।