मदिराले मातेका दाईलाई खुकुरीले हानेर भाईले गरे हत्या



काठमाडौं । काठमाडौँ महानगरपालिका-२३ ओमबहालमा गए राति खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् ।

प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार काठमाडौँ महानगरपालिका २३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् ।

मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको पाइएको छ ।

धारिलो प्रहार प्रयोग गरे लगत्तै भाइले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए । घटनाबारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी आएको हो ।

हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।