अत्यावश्यक सेवाको हड्ताल गर्न निषेध, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय



काठमाडौं । सरकारले अत्यावश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।

बैठकले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

आजको बैठकले काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको छ भने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय गरिएको छ ।

त्यस्तै माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय पनि भएको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।