

बसको ठक्करबाट डा. खड्कासहित २ जनाको मृत्यु

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै बसले कारलाई ठक्कर दिँदा कर्णाली प्रदेश अस्पतालकी डाक्टरसहित दुई जनाको ज्यान गएको छ ।
आज धनगढीबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुर आउँदै गरेको बा १ ३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काकी पत्नी डा. सञ्जु खड्काको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
दुर्घटनामा कार चालक गोरखाको आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने डा. खड्काको ज्यान गएको प्रहरीको भनाइ छ ।
प्रहरीले कारलाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।