

फेरि मुद्दा परेपछि रविको इरिटेशनः ‘घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दा हालेर इरिटेट गर्ने काम भएको बताएका छन् । सर्वोच्च अदालतले बुधवार लामिछानेविरुद्ध मुद्दा दर्ता गरेपछि बिहीबार बिहान उनले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका हुन् । ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ उनले भने ।
सर्वोच्च अदालतको मिति २०७९—१०–१३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको लामिछानेले बताए । अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको उनको दाबी छ ।
‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०–०२–०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५–०३–०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिए। टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ,’ उनले भने । यस्तै लामिछानेले घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्ने बताए ।
पछिल्लोपटक युवराज सफलले सर्वोच्चमा पुनः रविविरूद्ध रिट दिएपछि रविको उक्त आक्रोश बाहिर आएको हो । उक्त मुद्दामा आगामी जेठ १७ गते पेसी तोकिएको छ ।