

पैसाकै कारण प्रवेशपत्र नपाएपछि कक्षा-१२ का बयलकोटीले गरे आत्महत्या

धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका ७ चैनपुरस्थित सालबास माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् ।
चैनपुर ७ कै १९ वर्षिय जित बहादुर बयलकोटीले आत्महत्या गरेका हुन् । आर्थिक अभावले पीडित परिवारका अनुसार कक्षा १२ को परिक्षाको तयारीमा रहेका बयलकोटीसँग परिक्षा शुल्क तिर्ने रकम समेत थिएन ।
भोली अर्थात वैशाख २६ गतेदेखि शुरु हुने परिक्षाका लागि विद्यार्थीले परिक्षा शुल्क तिरेर प्रवेश पत्र लिनुपर्छ तर, उनीसँग उक्त शुल्क नभएपछि विद्यालयका प्रधानाध्यापक बलाराम ईटनीले प्रवेश पत्र दिएका थिएनन् ।
जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले दिएको उजुरी अनुसार इटनीले पहिले पैसा ल्याउ अनि भोली प्रवेश पत्र लिएर जाउ भनेपछि घर गएका बयलकोटीले सोही रात आत्महत्या गरेका हुन् ।
पीडित परिवारले प्रधानाध्यापक इटनीकै कारण बयलकोटीले आत्महत्या गरेको दाबी गरेका छन् । उनीहरुले उनी विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिने समेत तयारी गरेका छन् ।