

उपनिर्वाचनका लागि आज मनोनयन दर्ता, कहाँ-कसले दिँदैछन् उम्मेदवारी ?

काठमाडौं । आगामी वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिन चाहनेले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।
उपनिर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन मनोनयनका क्रममा गर्न नहुने कामको सूची पनि आयोगले सार्वजनिक गरेको छ ।
उम्मेदवादी दर्ताका लागि कांग्रेस, एमाले राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत पार्टीका उम्मेदवार सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् । तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खानाल रास्वपाका स्वर्णिय वाग्ले र राप्रपाका शोभा गुरुङ लगायतले उम्मेदवारी दिँदै छन् ।
यस्तै चिनवन २ मा सत्ता गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, रास्वपाका रवि लामिछाने ,राप्रपाका जीवलाल पुरी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।
बारामा सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाह, राप्रपाका सोनेलाल शाह लगायतले उम्मेदवारी दिने छन् ।
गत मंसिर मा सम्पन्न निर्वाचनमा तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि पद रिक्त हुन पुगेको थियो ।
चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो ।