एसईई परिक्षा केन्द्र निर्धारणमा अनियमितता, नगरको सेन्टर अर्कै गाउँपालिकामा !
सिडिओले नगरपालिकाको अधिकार क्षेत्र मिचेः मेयर चौधरी
लहान – अर्को सातादेखि सुरु हुन लागेको एसईई परिक्षाको सेन्टर निर्धारणमा अनियमितता भएको आशंका गरिएको छ । प्रशस्त भौतिक संरचना रहेको लहान नगरपालिकाभित्रका ५ विद्यालयका सेन्टर छिमेकी गाउँपालिकामा निर्धारण गरिएकोले अनियमितता भएको हुनसक्ने भन्दै नगरपालिकाले नै आशंका गरेको छ ।
एसईई जिल्ला परिक्षा समन्वय समितिले परिक्षा सेन्टर मिलाउन लहानका केही विद्यालयहरुसँग रकम चलखेल हुनसक्ने स्थानीयहरु बताउँछन् ।
लहान नगरपालिकाका ३ वटा निजी र २ वटा सामुदायिक विद्यालयको परिक्षा सेन्टर भगवानपुर गाउँपालिकामा तोकिएपछि नगरपालिका मेयर महेश चौधरीले असन्तुष्टी जनाउँदै परिक्षा केन्द्र निर्धारणमा अनियमितता भएको हुनसक्ने जनाएका छन् ।
लहानदेखि १५ किलोमिटर टाढा सीमा क्षेत्र नजिकै परिक्षा केन्द्र निर्धारण गरिनुलाई आफूहरुले शंकाको दृष्टिमा हेरेको बताउँदै मेयर चौधरीले परिक्षा दिने विद्यार्थी र उनका अभिभावकलाई समस्या हुने बताए । उनले भने, ‘नगरभित्र नै यथेष्ट भौतिक संरचना हुँदा हुँदै पनि अर्को गाउँपालिकामा सेन्टर पारिनु पक्कै पनि चलखेल हुनसक्छ, १५ किलोमिटर टाढाको विद्यालयमा सेन्टर परेपछि परिक्षार्थी र उनीहरुका अभिभावकलाई कस्तो समस्या पर्छ ?’ उनले प्रतिप्रश्न गरे ।
प्रमुख जिल्ला अधिकारीले केही विद्यालयसँगको मिलेमतोमा परिक्षाकेन्द्र बाहिर पठाएको हुनसक्ने बताउँदै अनियमितता भएको हुनसक्ने भन्दै छानबिन समेत गर्नुपर्ने मेयर चाैधरीले जनाएका छन् । उनले प्रजिअले नगरपालिकाको अधिकार क्षेत्र मिचेर परिक्षा केन्द्र अन्यत्रै पुर्याएको भन्दै तुरुन्त त्यस निर्णय सच्याउनुपर्ने समेत जनाए ।
अन्य पालिकामा सेन्टर तोकेपछि लहान नगरपालिकाले पनि पत्र नै लेखेर आपत्ति जनाएको छ । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को २ (ज) बमोजिम माध्यमिक तह सम्मका शैक्षिक कार्यक्रमको समन्वय र नियमन गर्ने अधिकार स्थानीय तहमा रहेको उल्लेख छ,’पत्रमा लेखिएको छ,‘भौतिक पूर्वाधारले पूर्ण विद्यालयहरु यही रहेकोले सेन्टर पालिकाभित्रै राख्न अनुरोध गरिएको छ ।’
लर्डबुद्ध युनिक एकेडमी र ग्लोबल एकेडमीलाई सखुवानन्कारकट्टिको सोठियाइन, ओम सनराईज सेकेन्ड्री बोर्डिङ्ग स्कुल र लेखनाथ माविलाई धनगढीमाई नगरपालिकाको मावि विष्णुपुर र जनता मावि सोनमति गाढालाई भगवानपुर गाउँपालिकामा परिक्षा सेन्टर तोकिएको छ ।
नगरपालिकाभित्रका ६ वटा विद्यालयमा एसईई परिक्षाको लागि सेन्टर तोकिएको छ । जसमा मावि थारुटोल, पशुपति मावि, ललकु मावि, ब्रह्मान मावि, वस्तीपुर मावि, सोनमति गाढा मावि रहेको छ । यहाँका सेन्टरहरुमा विभिन्न विद्यालयका १७९१ विद्यार्थीहरु सहभागी हुँदैछ ।
लहानका सेन्टरहरुमा विद्यार्थी संख्या बढेर बाहिरका सेन्टरमा पठाउनु परेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामवृक्ष महतोले जनाए । तर मेयर चौधरीले भने परिक्षा दिनकै लागि नगरभित्रकै विद्यालयहरु पर्याप्त रहेको बताए ।
उता प्रजिअ भोजराज खतिवडाले भने पहिलेदेखि तोकि सकेकोले सेन्टर परिवर्तन गर्न नसकिएको बताए । उनले भने अर्को पटक सेन्टर मिलाउने र यस्तो गुनासो नआउने जनाए ।