

रविसँगको भिडन्तका लागि चितवन कांग्रेसमा लर्को, ११ जना सिफारिस

चितवन । आगामी वैशाख १० गते हुन गइरहेको चितवन-२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ ।
गत मंसिरमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो । साथै, पुर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाकाे निर्णय लिदै केन्द्रमा पत्राचारसमेत गरेको छ ।
हिजाे सम्पन्न बैठकले चितवन–२ का लागि सिफारिस भएका उमेदवारहरुमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ रहेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको चैत १ गतेको पत्रअनुसार क्षेत्रीय समितिबाट पार्टीको विधानको धारा ३२ ८ (क) अनुसार सो सिफारिस गरिएको क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले बताए । उनका अनुसार प्रदेश समिति र जिल्ला पार्टी पदाधिकारीको संयुक्त बैठकले सर्वसम्मत रूपमा उमेदवारको नाम सिफारिस गरिएको हाे ।
यसैगरी, साे बैठकले उपनिर्वाचनलाई सहज बनाउन र विजय हासिल गर्नका लागि यसअघि चितवन क्षेत्र नं २ बाट कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाको लागिसमेत माथिल्ला कमिटीलाई अनुरोध गर्ने निर्णयसहित पत्राचारसमेत गरेको छ ।
जसअनुसार कारबाही फुकुवा गर्न सिफारिस भएका नेताहरुमा कांग्रेस पूर्वजिल्ला सभापति विकास कोइराला, महासमिति सदस्य मीना खरेल, पूर्व सांसद् जगन्नाथ पौडेल, पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्वसचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि जीतबहादुर थापालगायत छन् ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नै उम्मेदवार बन्ने पक्का छ । त्यसैले पनि धेरै कांग्रेसी नेताहरू रविसँगको भिडन्तका लागि तयार भएको जनाउ दिएका हुनसक्छन् । रविले यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा अत्याधिक मतले विजयी भएका थिए । उनी नागरिकतासम्बन्धी विवादका कारण सर्वोच्चको फैसलासँगै पदमुक्त भए पनि अहिले चुनाव उठ्नलाइ कुनै व्यवधान नरहेकोले स्वतन्त्रबाट उनै चुनावी मैदानमा उत्रिने निश्चित छ ।